
केही वर्ष अगाडि शिक्षा क्षेत्रमा सुधारकोलागि पाठ्यक्रमबाट कक्षा ११ को नेपाली विषय हटाउने र त्यसको ठाँउमा व्यावहारिक र सिप विकास हुने गरी जीवनोपयोगी विषय राख्ने सरकारले तयारी गरेको थियो तर त्यो सम्भव भएन । नेपाली विषयको सम्पूर्ण शिक्षकहरुले त्यसको विरोधमा आन्दोलन गरे र अन्तिममा सरकारले निर्णय परिवर्तन गर्नुपर्यो ।
त्यसको मुख्य कारणः ती शिक्षकहरु नेपाली विषय बाहेकको अरु विषयमा दखल र ज्ञान थिएनन्। त्यहि विषय मात्रै जानेको र त्यहि मात्रै पढाएर पेट पाल्ने भएकाले विकल्प थिएन।
अहिले चर्च र पास्टरहरूको हालतपनि त्यस्तै भएको छ । प्रिय पाठक, तपाइको चर्चमा पछिल्लो एक वर्षमा के के विषयमा प्रचार भयो ? केके कुरा पुलपिटबाट बोलियो एक पटक नोटहरू पल्टाएर मनन गर्नुहोस् । तपाइको चर्च कुन दिशा तर्फ ढल्किदै छ , पुलपिटबाट बोलिएको शिर्षकहरूबाट थाहा हुन्छ ।
अधिकांश चर्चहरूमा बाइबलिय प्रचार भन्दा पनि आत्मिक मेन्टरको नाममा फलानो प्रेरित, फलानो अगमवक्ता भन्दै उनिहरूको प्रचार हुन्छ । चङ्गाइ, चिन्ह, चमत्कार, हात राख्ने काम, अभिषेक सार्ने ,बगाउने, अन्यभाषा, वरदान , आगोको बप्तिस्मा, जागृति मात्रै जानेका हुन्छन् । परमेश्वरको सार्वभौमिकता ,आदर, डर र महिमा सिकाउनु भन्दापनि शैतान र दुष्ट अदृष्य शक्तिको डरको प्रचार गर्दै विश्वासीहरूलाइ ब्ल्याकमेलिङ गर्दै भावनामा बहकाइन्छ । बाइबलिय सिद्धान्त बाहिर गएर सानो पदलाइ मात्रै समातेर त्यसको गलत व्याख्या गरिन्छ ।
केहि व्यक्ति तथा समुहहरू पञ्चदलीय सेवकाइको, अभिषेक सार्ने र बगाउनेको नाममा चर्च घुमन्ते भएका छन् । पेट पाल्न, डुल्न, र सेमिनार, तालिम गर्न मुख्य आयस्रोत रूपमा प्रयोग गर्छन् । उनिहरूले बाइबलमा यि बाहेक अरू केहिपनि जानेका हुदैनन् । जान्न पनि चाहन्नन् ।
मेरो अर्थ चर्चमा चङ्गाइ हुन्न, येशूमा शक्ति छैन, वरदानहरू छैनन भनेको होइन यि सबै प्राथमिक कुराहरू भन्दा माथि परिपक्कता तर्फ लागाै भन्ने हो ।
वर्षभरि नै यस्तै विषयहरू मात्रै दोहोरिरहेका हुन्छन् र विश्वासीहरू यसमा नै झुण्डिरहेका हुन्छन् । दिनदिनको जिवनमा आत्मिक रूपमा परिपक्क हुदै परमेश्वरको स्वर सुन्ने, उहाँको इच्छामा जिउने , उहाँको अगुवाइ र योजना भर पर्ने कुराहरू छायामा परेका छन् । चर्चलाइ यी बरदानहरुको खाँचो छ । मुख्य कुरा उहाँको इच्छा होइन र ? । पवित्र आत्माको फलमा कहिले जोड दिने ? उहाँसगको सम्बन्ध र संगतिको व्यावहारिक शिक्षामामा कहिले ध्यान दिने ?
येशूलाइ मन पर्दो जीवन कसरी जीउने ? येशूसंग कसरी हिड्ने ? येशूको आवाज कसरी सुन्ने ? अगुवाइ कसरी थाहा पाउने ? धार्मिकताको जीवन कस्तो हुन्छ ? कसरी पवित्र हुदै जाने ? वरदानहरूलाइ प्रयोग गरेर सेवा कसरी गर्ने ? यस्ता गम्भिर कुराहरू चर्चलाइ सिकाउने पर्ने हो तर यी सिकाउने फुर्सद छैन । त्यस्ता वियष सिकाउन पास्टर अगुवाहरूलेपनि गहिरो अध्ययनसँगै अनुभव गरेको, त्यसै अनुसार जीवन जिएको हुनुपर्छ ।
हाम्रो शरीरलाई आवश्यक पर्ने सन्तुलित आहार लामो समयसम्म उपलब्ध नहुँदा समस्या स्वरुप सिर्जना हुने अवस्थालाई कुपोषण भनिन्छ। कुपोषणले शरिरलाइ ख्याउटे बनाएझै आत्मिकी भोजनको अभावले विश्वासीहरूमा आत्मिकी ख्याउटेपन बढ्दो छ। यदि हामी नयाँ गरेर जन्मेका हौ भने हिजो भन्दा आज र आज भन्दा भोलि पवित्र आत्मामा येशुको कदसम्म हुर्किदै येशु जस्तै बन्दै जाने हो ।
तलवकोलागि पास्टरिय सेवा २ घण्टा पुलपिटमा भुलाउने जागिर मात्रै होइन । पास्टर पद पनि होइन सेवा हो । पास्टरिय सेवाकाइ भनेको ख्रीष्टको दुलहीलाई सजाउने, सुसज्जित गर्ने, सुरक्षित राख्ने,र आउनेवाला दुलहाको निम्ति दुलहीलाई सौर्न्दर्यता दिलाउने जिम्मेवारी हो । दिनरात आफ्नो जिम्मामा भएको विश्वासीहरूको हेरचाह गर्नु, बाइबलबाट आत्मिक शिक्षा सिकाउनु र सिकाउने मात्रै होइन तर आफुले पनि नमूनाको जीवन जिउनु चाँहि पास्टरिय सेवा हो । (1 पत्रुस 5:2-4) हामी कोहिपनि सिद्ध छैनाै तरपनि सिद्धतातर्फ लाग्नुपर्छ ।
हामी सबै जना सिक्ने क्रममा छाै। इमान्दारिताका साथ आफूलाई अपडेट र अपग्रेड गर्दै ,निमार्ण गर्दै र हुदै जानु आजको आवश्यकता हो । । तपाइको चर्च कुन दिशा तर्फ ढल्किदै छ , पुलपिटबाट बोलिएको शिर्षकहरूबाट थाहा पाउन सकिन्छ ।
विश्वासीलाइ ख्याउटे बनाउने कि पोषिलो बनाउने ? कतै तपाईँको हेलचेक्राई र बाइबल अध्ययनमा अल्छीको कारणले सम्पूर्ण विश्वासीको जिन्दगी नै खतरामा त छैन ?
बाइबलीय सिद्धान्तलाई ओझेल पार्ने र ख्रीष्टबाट विचलन गरिने कुराहरूबाट होसियार रहौँ ।
‘किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्छ। ‘ . ‘दूध मात्र खाएर बाँच्ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। ‘खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ।’
‘यसकारण ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोड़ेर हामी परिपक्वतातर्फ बढ़ौं। मृत्युतिर लैजाने कर्महरूबाट पश्चात्ताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौं। विभिन्न बप्तिस्माहरूसम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डजस्ता कुराहरूको जग फेरि नबसालौं। ‘ – हिब्रु ५: ११-१४ , हिब्रू 6:1-2 ,
एफिसी ४: १३ -१६ , कलस्सी १: २६ – २८ , मत्ती 7:21-23
जसको सुन्ने कान छ, त्यसले सुनोस्…


मलाई मात्रै यस्तो शिक्षाको अभाव छ भन्ने महसुस भएको हो कि अरु कोहि ब्यक्तिहरु पनि छ्न भन्ने मनमा लागिरहेको थियो जे होस हाम्रो बाइबललिय शिक्षाको दायर सचिक्कै साघुरो छ । तर ठिक समयमा उहाँले आफ्नो काम गर्ने निपुर्ण कारीगरहरु तयार गर्दै हुनुहुन्छ भन्ने दृढ बिश्वास बढेको छ। एकदम सर्बोच्चकोटिको लेख खुशी लाग्यो ।परमेश्वरको महिमा भएको होवस ।आमेन ।